an idiot blog for an idiot world

मास्क लगाएको सहर

leave a comment »

– सिपी अर्याल

काठमाडौं एक कुशल कथावाचक हो। आफ्नो पोल्टामा सधैँभरि यस्ता कथा बोकेर हिँड्छ ऊ जुन भनेर कहिल्यै सिध्दिँदैन। पात्रहरू पनि त्यस्ता हुन्छन् उसका जो यो सहरलाई स्नेह गर्छन्, र बेलाबेलामा घृणा पनि। हरेक दिनका उसका कथामा केही न केही विशेष ‘क्राफ्ट’ त हुन्छ नै। सहर आफैंमा एउटा अमूर्त पात्र हो, त्यसैले ऊ बोल्न सक्दैन न त हिँड्न नै। यो अभाव पूर्ति गर्न पनि जानेको छ उसले। जस्तै, बेलाबेला कोही सूत्रधारलाई पठाउँछ आफ्नै कथा भन्न। समयको पुरातात्त्विक अवस्थाबाटै कथा भनिदिने अनेक सूत्रधार जन्माइसकेको छ काठमाडौंले। यसपालि काठमाडौंको कथा भन्ने सूत्रधार बनेर निस्किएका छन् लेखक प्रणय राणा।

कथामा चामत्कारिकै लाग्ने त छैन, तर जसरी भनिएको छ कथा, जसरी जोडिएका छन् घटनाहरू त्यही शैली गह्रुंगो छ। कथासंग्रह ‘सिटी अफ ड्रिम्स’ मा लेखक राणा पाठकलाई ‘इन्गेज’ गराइरहने क्षमतासहित प्रस्तुत छन्। पाठकलाई च्याप्पै समाएर टसमस हुन नदिएर पढ्न बाध्य पार्ने मीठास नै किताबको बलियो पक्ष हो। प्रसंगअनुसार काठमाडौं मात्रै होइन अमेरिकाका सहर पनि आउँछन् र जान्छन्। वसन्तपुरमा रिक्सा चढ्दा फेरिने दृश्यझैँ दृश्यहरू बिस्तारै फेरिइरहन्छन्। तर, पात्रचाहिँ यहीँ वरिपरिका। कुनै बेला लाग्ला पाठकलाई उसले भोगेका युवाकालीन दिन पनि प्रणयका पात्रले भोगेका दिनझैँ छन्। यस अर्थमा, कथाले हाम्रै किशोरकालका कुरा भन्न सकेको छ।

यहीँ काठामाडौँको रैथाने जीवन र बाँकी नेपाली जीवनका विभिन्न पाटा केलाइएका छन्। प्राय: पात्रहरू युवा छन् जो प्रेम, विछोड, बेरोजगारी, अविश्वास, कुलत, यौन, लेखनी, संगीत आदिसँग गाँसिएका छन्। सामान्य सवालहरूको रोचक प्रस्तुति छ कथामा। हरेक दिन यहीँ घट्ने विविध घटना र प्रसंगलाई नै विशेष आकार दिएर कथा बुनिएको छ। पात्रहरू भरिला छन् र संवादमा छरिता सुनिन्छन्। कोही काठमाडौँमै हुर्किएका पुस्ता छन् त कोही शर्मिला (रेड कुर्ता) जस्ता पनि छन्, जो घरेलु कामदारको रूपमा पहिलोपटक काठमाडौँको कष्टकर यात्रा र अझ कष्टकर जीवन भोग्न बाध्य छन्। कथाभरि काठमाडौँलाई नायक र खलनायक दुवैका रूपमा उभ्याइएको छ।

मास्क लगाएर सहर दृश्यमा आउजाउ गर्छ। आफ्ना पूर्ववत् केही साहित्यकारले झैँ प्रणयले काठमाडौँलाई २०/२५ वर्षअघिको चस्मा लगाएर हेरेका छैनन्। न त, पात्रको प्रवृत्ति नै त्यस्तो छ। किताबमा ४६ साल अघिको काठमाडौँ मात्रै होइन वर्तमानको काठमाडौँ पनि छ। जहाँ केवल राजनीति मात्रै होइन युवा पुस्ताको अनौठो दिनचर्या छ। यस अर्थमा, परम्परागत काठमाडौँ र यहाँको जीवन भोग्नेहरूको कथा नयाँ लाग्नेछ पाठकलाई। अझ, अन्तर्राष्ट्रिय पाठकमाझ काठमाडौँको परम्पारगत धारणा परिवर्तनमा प्रणयको यो किताब एउटा योगदान पनि ठहर हुन्छ। खास नेपाली कथाहरू अन्तर्राष्ट्रिय बजारका लागि बिल्कुल नयाँ मानिन्छन्। जो राम्ररी भनिएकै छैनन्, कुशल तरिकासाथ पस्किइएकै छैनन्। त्यसको थोरै नै किन नहोस् अभाव पूर्ति गर्न यो किताबले सकेको छ।

संग्रहमा मास्क लगाएको सहरको रोचक कथा छ। पुस्तकको शीर्ष कथा ‘सिटी अफ ड्रिम्स’ ले काठमाडौँ सहरको बहुरूपको रेखाचित्र कोर्छ। काठमाडौँ घुमेर सबै देखिसकेको कान्ति जब कुनै बेला यहीँ हराएझैँ लाग्छ त्यसले यो सहरको बहुरूपी अनुहारको दृश्यचित्र खिच्छ। वास्तविकता र कल्पनाशीलता दुवैको प्रयोग गरिएको यो कथामा कान्ति सहरको यस्तो पात्र हो जो यहाँ हिँडिरहन रुचाउँछ। जति हिँड्दा पनि ऊ अघाउँदैन। मतलब छैन उसलाई मानिसहरूले खिल्ली उडाउँदै पागलको संज्ञा दिएको। स्वैरकल्पनाको प्रयोगले पाठकलाई रोमाञ्चित अल्मल्याइमा पुर्‍याउँछ यस कथामा।

यसैगरी, लेखक प्रणयले प्रणयकै बारे लेखेको कथा हो संग्रहको दोस्रो कोसेली ‘दि स्मोकर’। जहाँ स्वयं लेखक प्रणयको अटोबायोग्राफीजस्तो लाग्ने शैलीसँग मिसमास भएको पात्र छ र छ उसको झैँ रुचि भएको अर्को प्रणय। कथामा काठमाडौँको सम्झनामा मिसिन्छ अमेरिकाका सहरहरूको भोगाइ। उपकथाका रूपमा होस् या घटना वर्णनकै पक्ष, पत्यारै नलाग्ने खालका मसिना कुरालाई लेखकले यसरी जोड्छन् मानौँ उनी अत्यन्त मसिनो काम गर्ने सिद्धहस्त कालीगढ हुन्। प्रणयका पात्र मनोवैज्ञानिक रूपमा पिल्सिएका छन्। कोही लेख्ने कुरा नपाएर छटपटिएको छ, कोही स्कुले साथीसँग छुट्टिनुपर्दाको पीडामा रन्थनिएको छ भने कोहीचाहिँ आफूले रुचाएको केटीलाई प्रभाव पार्न अनेक दाउ खोज्ने लन्ठोमा छ। ‘दसैँ’ कथा एउटा १५/१६ वर्षे युवाबारे हो। जहाँ उसका परिवार तयारी गर्दै छन् खसी काट्ने। एउटा युवा छ, जो आफ्नै उमेरकी एउटी केटीलाई प्रभाव पार्नकै लागि भए पनि खसी छिनाल्न तम्सिन्छ। यसमा खुकुरी उद्याउँदै गरेको प्रसंग, खसीलाई पानी छम्किँदा त्यसले गर्ने हाउभाउको व्याख्या र मार हान्दाको दृश्यकथा निकै रोचक छन्। सामान्य ढंगमा कथा भन्न सक्नु र स्पष्ट चित्र कोर्दै कथा भन्नुमा फरक छ। प्रणयचाहिँ माहिर छन् स्पष्ट चित्रमय झलक आउने गरी कथा भन्ने कलामा।

बेला–बेला नेपालकै वासना आउने गरी कथा भन्ने राणाले नेपाली शब्दावली मिसाउनेदेखि यहाँको चाडबाड, वातावरण र पात्रको हाउभाउ ल्याइरहन्छन्। हामीबीचका यी कुरा विदेशी पाठकका लागि नौलो अवश्य हुन सक्छ भने नेपाली पाठकका लागि घरेलु स्वाद जुन पढ्दा मुसुमुसु बनाउँछ, जस्तै, ‘रेड कुर्ता’ मा शर्मिलाको कथाभन्दा प्रणय ‘उत्ताउली’ शब्द प्रयोग गर्छन्। यसै खालका केही शब्द नेपाली पाठकले रमाइलै मानेर पढ्छन् तर नेपाली फिटिक्कै नबुझ्ने विदेशी पाठकका लागि भने ‘हलुवामा बालुवा’ पक्कै होला।

‘आवर रुइन’ मा बाल्यकालीन समयसँगै बिताएका तीन युवाको कथा छ। कहिल्यै छुट्टिने कल्पना नगरेका यिनीहरूले उमेरको भर्‍याङ चढ्न थाल्दा सिक्दै जान्छन्– जिन्दगीको भोगाइ भनेको ट्रेन यात्रामा आउने जाने गरिरहने दृश्य हुन्। कुनै बेला हरेक हप्ता कुनै गुपुचुप ठाउँमा गएर गाँजा, रक्सीलगायत कुरा बाँडीचुँडी खाने उनीहरू प्रेममा परेपछि वा उच्च अध्ययनका लागि विदेश जानुपरेपछि छुट्टिनुपर्छ। र, छुट्टिन्छन् पनि।

कथा लेखनीको जोखिमयुक्त दुनियाँमा प्रणयलाई स्वागत छ। कथा भन्न कथा मात्रै भनेर पुग्दैन। कथा नभएर पनि पुग्दैन। सबैथोक मिसाएर नराखे यो रद्दी हुने जोखिम हुन्छ। पात्रचित्रण, भाषा, परिवेश, दृश्य व्याख्या, थिम, कथानक आदि कुराको तालमेल नमिल्दा कथा होइन पुस्तकभित्र नमीठो खिचडी मात्रै पाक्छ। यस मामलामा, प्रणय सफल देखिन्छन् आफ्नो पहिलो कथासंग्रहमा। उनले भनेका १० थान कथामा सबै थोकको मात्रा पुगेको छ। चामत्कारिक नाटकीयता नभए पनि त्यो वर्णन गर्ने भाषिक शिल्प स्वादलाग्दो र प्रस्तुति पनि चाखलाग्दो हुँदा सिर्जनामा मीठास आउँछ भन्ने यथार्थ ‘सिटी अफ ड्रिम्स’ पढ्नेले अनुभव गर्छन्।

http://kantipur.ekantipur.com/printedition/news/2016-01-09/20160109095504.html

 

Advertisements

Written by Pranaya

February 23, 2016 at 1:11 AM

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: