an idiot blog for an idiot world

‘सिटी अफ ड्रिम्स’मा किशोरवयका सपना

leave a comment »

नयाँपन ल्याउने नाममा अनेक वाद र झर्को लाग्दा प्रयोग गरेर लेखनीलाई बोझिल र निरस बनाउन लागि परेका केही स्रष्टालाई पनि राणाको यो कृतिले गतिलै पाठ पढाउँछ ।

ऋचा भट्टराई

विद्यालयमा पढ्दैदेखि हिँड्न मन पराउने कान्ति वयस्क भइसक्दा पनि हिँड्न उत्तिकै रुचाउँछ । हिँडेरै काठमाडौँका गल्लीगल्ली नाप्दा उसलाई कतिले पागल भन्छन्, कतिले अव्यावहारिक र परिवारले पनि अनौठो ठान्छ । तर, ऊ कसैको पनि वास्ता नगरी आफ्ना पाइला अनवरत अघि बढाइरहन्छ ।

काठमाडौँका हरेक सडक कण्ठै पारिसकेपछि भने ऊ खिन्न हुन्छ किनभने अब चहार्न नयाँ ठाउँ बाँकी रहेन । कान्तिलाई आफ्नो जीवन नै अर्थहीन लाग्न आँट्दा यो राजधानीले अचानक उसलाई एउटा आश्चर्यजनक रहस्यसँग चिनारी गराउँछ । अनि, उसको जीवनमा फेरि रौनक छाउँछ । तर, कथामा त्यो अपत्यारिलो क्षण आइपुग्दा पाठक भने त्यसलाई दोहोर्‍याइ तेहेर्‍याइ पढ्न र अर्थ खोज्न बाध्य हुन्छन् ।

प्रणय राणाको भर्खरै प्रकाशित कथासंग्रह सिटी अफ ड्रिम्स (सपनाको सहर)मा यस्ता अद्भुत क्षण बारम्बार आइरहन्छन् । संग्रहको पहिलो कथा ‘सिटी अफ ड्रिम्स’मा उनले कान्तिका माध्यमबाट स्वैरकल्पनाको संसारमा पुर्‍याएपछि त्यसपछिको कथा ‘द स्मोकर’मा यथार्थको प्रयोग गरेका छन् । मायाको आगमन र प्रस्थान अनि त्यसले प्रमुख पात्रको मनमा सिर्जित भ्रम र प्रश्नले पाठकलाई रनभुल्लमा पार्छन् । अर्को कथा ‘द प्रेजेन्स अफ गड’ ( ईश्वरको उपस्थिति) त अझ रोमाञ्चक छ, दुई प्रमुख पात्र ईश्वरको अस्तित्वका बारे बहस गर्दै यस्तो मोडमा पुग्छन्, जहाँ ती दुवैको आस्था र विश्वासमाथि प्रश्नचिह्न उठ्छ । उनीहरूलाई आत्मसमीक्षा गर्न लगाउने घटनालाई लेखकले अति प्रभावकारी ढंगले प्रस्तुत गरेका छन् ।

मात्र दस कथामा यस्ता प्रयोग गरेर राणाले अंग्रेजीमा कलम चलाउने नेपाली लेखकमाझ छुट्टै चिनारी त बनाएका छन् नै, उनको भाषा प्रयोग, विषयवस्तुको विविधता र आख्यानशिल्पले कुनै पनि विदेशी स्रष्टासँग प्रतिस्पर्धा गर्न सक्छ । त्यस्तै नयाँपन ल्याउने नाममा अनेक वाद र झर्को लाग्दा प्रयोग गरेर लेखनीलाई बोझिल र निरस बनाउन लागि परेका केही स्रष्टालाई पनि राणाको यो कृतिले गतिलै पाठ पढाउँछ । कुनै पनि प्रयोग वा लेखनमा नवीन तत्त्व घुसाउँदा पढ्नुको आनन्दमा रत्तिभर कमी हुनु हुँदैन, राणाले यो राम्रैसँग बुझेका छन् । त्यसैले त उनको लेखनीको नौलोपन सरस र आकर्षक लाग्छ ।

एउटा उदाहरण छ, कथा ‘टु’ (दुई)को । कथाको विषयवस्तु त्यति नौलो होइन तर लेखकले यसमा रमाइलो प्रयोग गरेका छन्, प्रमुख पात्र अनामले भेटेका हरेक गौण पात्रका कथा उनले एक–एक अनुच्छेदमा बताएका छन् । अनि, कथा जुन मोडबाट सुरु भएको हुन्छ, सबै पात्रलाई बेरेर सर्पझैँ फन्को मार्दै फेरि त्यही विन्दुमा पुगेर टुंगिन्छ । संग्रहको अन्तिम कथा ‘द चाइल्ड’ (बच्चा)मा पनि यस्तै प्रयोग छ । साथै, अन्तिम कथामा लेखकले नैतिकता र क्षोभलाई जोडेर मनोवैज्ञानिक प्रश्न उठाएका छन्, जसले वर्तमान समाजको चित्रण मात्र गर्दैन, यसका सदस्यलाई पनि झस्काउँछ । हुन त उनका अरू कथामा पनि प्रेम र यौन, नैतिकता र चरित्र अनि भ्रम र यथार्थका प्रशस्त चर्चा छन् ।

यसै गरी कृतिमा प्रस्ट भेटिने अर्को कुरा हो, राणाको काठमाडौँ मोह । राणाले राजधानीलाई हरेक पाठकको आँखैसामु नचाइदिने प्रतिभा राख्छन् । यहाँको हरेक भवन, चोक, चियापसल, चौतारा र चौबाटोलाई उनी मायाले सुमसुम्याउँछन्, तिनका बनोट र ढाँचालाई कुशल कालिगढले झैँ केवल शब्दका माध्यमबाट दुरुस्तै उतार्छन् । यो सहरमा बस्ने हरेक पात्र पनि उनका घनिष्ठ छन्, ती सबैसँग हाम्रो परिचय गराउँदै लान्छन् । हामीले हरेक दिन देख्ने यी स्थान र भेट्ने मान्छेलाई नै राणाले आफ्ना कथामा कैद गरेका छन् ।

तर, कैद पनि यति शक्तिशाली ढंगले गरेका छन्, बयान गरी साध्य छैन । उनका शब्द पानीझैँ सलल बगिरहन्छन्, पृष्ठभरि मिलेर बस्छन्, वाक्य–वाक्यले आनन्दित तुल्याउँछन् । यो सबै उनको वर्णनात्मक शैलीले सम्भव भएको हो । कथाकारले हरेक पात्र, घटना र स्थितिलाई यस्तो चिर–परिचित परिवेशमा राखिदिन्छन्, हामीलाई लाग्छ– यिनलाई त हामीले पहिल्यै चिनिसक्यौँ, देखिसक्यौँ । र, सायद हामी नै यी पात्र हौँ र यो जीवन भोगिरहन्छौँ । वर्णन गरेर नै पात्रलाई हाम्रै नगीच उभ्याइदिने खुबी उनले बारम्बार प्रदर्शन गरेका छन्, संग्रहमा । कहीँ खसी छिनालेको दृश्यले रौँ ठाडो हुन्छ भने कतै श्रीमान्ले पिटेको महिलाको नीलडाम देखेर । फरक यत्ति हो, धेरै ठाउँमा उनी अत्यन्त परिपक्व रूपले वर्णन गर्छन् भने कहीँ अलि अपरिपक्व र कृत्रिम लाग्छन् ।

राणाका कथाको अर्को विशेषता हो, प्रमुख पात्रहरू सबै नै किशोरावस्थाका चरण पार गर्दै गरेका छन् । र, प्राय:जसो पात्रले कुनै चुनौती बेहोर्नुपर्छ वा अकल्पनीय परिस्थितिको सामना गर्छ । जीवनका यी भोगाइसँग जुझ्दै अघि बढेका पात्रमा यी घटनाकै कारण परिपक्वता पनि उत्पन्न हुन्छ । युवा पात्रमा देखिने यस किसिमको परिवर्तन समेट्ने साहित्यलाई ‘कमिङ अफ एज’वा ‘बिल्डन्स रोमन’ विधाका रूपमा परिभाषित गरिन्छ । राणाका धेरै कथालाई यसै अन्तर्गत राख्दा उपयुक्त हुन्छ र उनले पात्रमा उत्पन्न हुने यस्तो परिवर्तनलाई स्थान दिएर नेपालमा ‘यङ एडल्ट फिक्सन’का लागि ढोका खोलिदिएका छन् । यसका तीन उत्कृष्ट उदाहरण ‘दसैँ’, ‘आवर रुइन’ (हाम्रो बर्बादी) र ‘द रेड कुर्ता’ (रातो कुर्ता) हुन्, जसभित्र किशोर–किशोरी आफ्ना जीवनका खुड्किला पार गर्न संघर्षरत हुन्छन् ।
संग्रहका प्राय: कथाका पात्र त लेखक आफैँ हुन्जस्तो लाग्छ ।

कथाको एउटा परम्परागत ढाँचा खोज्ने पाठकलाई भने यस संग्रहले निराश तुल्याउने छ । दुई–तीनवटाबाहेक कुनै पनि कथा पारम्परिक हिसाबका कथाझैँ छैनन्, जसको आदि, मध्य र अन्त्य होस् । कथामा अलि गम्भीर विषयवस्तु, राजनीतिक धारणा वा दर्शन चाहने पाठकका लागि पनि कृति उपयुक्त छैन, त्यस्ता पाठकलाई यी कथा सतही र यथार्थको धरातलबाट धेरै पर लाग्नेछन् । तर, अंग्रेजी भाषाको यति मीठो र ओजपूर्ण प्रयोग गरेर चकित तुल्याउने कलाको खोज गरिरहेका पाठकका लागि भने यो संग्रह सँगालेर राख्नयोग्य छ ।

http://bit.ly/1QVQ5HR

Advertisements

Written by Pranaya

February 23, 2016 at 1:05 AM

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: