an idiot blog for an idiot world

स्वप्न सहरका नयाँ लेखक

leave a comment »

प्रणयलाई लाग्छ, नेपालीमा लेख्नेहरूले प्रयोग गरिरहेका छन् । उदाहरणका रूपमा उनी कुमार नगरकोटी, अमर न्यौपाने आदिको नाम लिन्छन् । नगरकोटीले झैं उनी पाठकलाई स्वैरकाल्पनिक संसारमा पुर्‍याउन चाहन्छन्, न्यौपानेले झैं भाषासँग बग्न चाहन्छन् ।

– अजित बराल

नाकाबन्दी र मधेस आन्दोलनको चरम निराशाबीच प्रणय राणाको ‘सिटी अफ ड्रिम्स’ कथासंग्रह पढ्दै थिएँ । संग्रह पढ्दापढ्दै थाहै नपाईकन म निराशाको संसारबाट आशाको संसारमा पुगेको थिएँ, संग्रहका पात्रहरू यथार्थवादको संसारबाट अतियथार्थवादको संसारमा पुगे जसरी ।

र, पढिसकेपछि होचो कद भएका प्रणय राणालाई लक्ष्मीप्रसाद देवकोटाबाट सुरु भएको नेपाली अंग्रेजी लेखनको साठी, पैंसट्ठ्ठी साले इतिहासको कसीमा अग्लो पाएको थिएँ । नेपालका तर्फबाट अन्तर्राष्ट्रिय साहित्य जगत्मै सबैभन्दा बढी प्रभाव पार्ने लेखक उनै मृदुभाषी प्रणय हुन पुगे भने अचम्म मान्नु पर्दैन । उनी उमेरले सानै छन्, तर आफ्नो लेखनमा केही नयाँ गर्न चाहन्छन् । यस्तै शक्तिशाली प्रयोगहरू उनको पहिलो कृति ‘सिटी अफ ड्रिम्स’ का धेरै कथामा पाइन्छन् ।  यस पुस्तकमा उनले अंग्रेजीमा लेख्ने नेपालीले प्रयोग गरिराखेको सामाजिक यथार्थवादको कथ्य शैली (न्यारेटिभ टेकनिक) लाई छोडेका छन् । संग्रहको पहिलो कथामा हिँड्न औधि मन पराउने कान्तिले काठमाडौंका सबै गल्ली चहारिसक्छ र सडक नापिसक्छ । सबै ठाउँको ज्ञाता भएपछि ऊ पाटन सरेर नयाँ सहरमा रम्ने कल्पना पनि गर्न थाल्छ । तर यही बिचार्दै ऊ जब एक दिन बस चढ्छ, नौलो ठाउँमा पुग्छ, ‘ह्यारी पटर’ शृंखलाका पात्रहरू ट्ेरन चढेर हग्वार्टस् स्कुल अफ विच एन्ड विजाड्रीको जादुयी संसारमा पुगे जसरी ।

त्यसपछिको घटनाक्रम औसत पाठकलाई पहिल्याउन गाह्रै पर्छ । दोस्रो कथामा प्रेरणा खोजिरहेको एउटा लेखकको कथा होइन उसको सपना पढेझैं लाग्छ । त्यस्तै, यथार्थिक संसारबाट अतियथार्थिक संसारमा लैजानै अर्को कथा ‘द प्रेजेन्स अफ गड’ मा शिवपुरी डाँडामा हाइकिङ गएका दुई जोडी साथी बाटो बिराएपछि एउटा मानिसलाई पछ्याउँदै रित्तो गाउँमा पुग्छन् । राति त्यहाँ अलौकिक क्रियाकलाप देखिन्छ– यी यात्रीहरू विशाल पशुबलिजस्तो कुनै भयावह घटनाको साक्षी बन्न बाध्य हुन्छन् । तर, बिहान उठ्दा उनीहरूले त्यहाँ राति त्यस्तो कुनै अनुष्ठान भएको केही संकेत पाउँदैनन् । आआफ्ना घर फर्कंदासम्म दुई जोडीमध्ये एक जोडीमा अनौठो परिवर्तन आइसकेको हुन्छ । भगवान्प्रति आस्था भएकी केटीले त्यो आस्था गुमाउँछे भने उसको नास्तिक सहयात्रीले भगवान्लाई विश्वास गर्न थाल्छ ।

संग्रहका बाँकी सात कथामा जादुयी यथार्थवादको यस्तो अद्भुत प्रदर्शन त हामीले पाउँदैनौं तर पनि ती पारम्पारिक सामाजिक यथार्थवादभन्दा पृथक् लाग्छन्, किनकि तिनमा प्रणयले समय र स्थानको संगतिलाई भत्काइदिएका छन् ।

प्रणयले प्रयोग गर्न खुबै रुचाउँछन् । उनको यो रुचिको स्रोत हुन्, होय लुई बोर्गेस र इटालियो क्यालभिनो । र, प्रेरणाका लागि उनीहरूका कथा पढिराख्छन् उनी । उनीहरूले लेख्ने कथाजस्तो पनि लेख्न चाहन्छन् । भन्छन्, ‘म सामाजिक यथार्थवादबाट टाढा जान चाहन्छु ।’ उनी थप्छन्, ‘हाम्रो संसार विसंगत छ । मलाई जादुयी यथार्थवाद मार्फत यो विसंगतिलाई हेर्न मन पर्छ ।’

उनका विचारमा नेपाली अंग्रेजी लेखनमा प्रयोग हुन पाएकै छैन । ‘हामी अंग्रेजीमा लेख्नेले अंग्रेजी साहित्यलाई बेवास्ता गरेर लेख्न सक्दैनौं । हामीले अंग्रेजी साहित्यमा केही न केही थप्नुपर्छ,’ उनी भन्छन् । अनि आफैंलाई सोध्छन्, ‘अरूहरूले गरिरहेको कुरा हामीले किन गरिरहेका छैनौं ?’ अनि अरुन्धती रोयको ‘द गड अफ स्मल थिङ्स’ को उदाहरण दिन्छन्, कसरी उनले उपन्यासको भाषा र संरचनासँग खेलेकी छन् ।

‘कथा भनेको कथामात्र होइन,’ प्रणय भन्छन् । उनका विचारमा यसमा पारम्परिक तत्त्वहरूबाहेक अरू पनि प्रशस्त प्रयोग हुनुपर्छ । वास्तवमा उनीे अंग्रेजीमा लेख्ने लेखकहरूलाई भाषा र संरचनासँग खेल्न आग्रह नै गर्छन् ।

उनलाई लाग्छ, बरु नेपालीमा लेख्नेहरूले प्रयोग गरिरहेका छन् । उदाहरणका रूपमा उनी कुमार नगरकोटी, अमर न्यौपाने आदिको नाम लिन्छन् । नगरकोटीले झैं उनी पाठकलाई स्वैरकाल्पनिक संसारमा पुर्‍याउन चाहन्छन्, न्यौपानेले झैं भाषासँग बग्न चाहन्छन् । त्यसो गर्न उनी सफल भएका पनि छन्् ।  उनको यो सफलताको जग उनी सानै छँदादेखि नै बन्दै थियो । उनी पाँच, छ वर्षको हुँदादेखि नै पढ्थे । ‘आई वाज ए नर्ड,’ उनी भन्छन् । अहिले पनि हेर्दा उनी नर्डी नै देखिन्छन् । फिस्टे शरीर । चिन्डे टाउको । लाम्चो अनुहार । र, त्यो अनुहारलाई झन् लाम्चो बनाउने मालीले स्याहार्न नभ्याएको बगैंचाजस्तो दारी । उनको परिचय नै ‘किताब पढ्ने केटा’ को रूपमा बनेको थियो, शीर्षक कथा ‘सिटी अफ ड्रिम्स’ को प्रमुख पात्र कान्तिको परिचय ‘हिँडिराख्ने केटा’ को रूपमा बनेझैं ।

पढ्नुबाहेक उनको अन्य केही रुचि थिएन । पढ्नमा कसरी रुचि बस्यो त्यो उनी खुट्याउन सक्दैनन् । उनको बुबाले अलिअलि लेख्नुहुन्थ्यो र छोराले पढोस् भनेर ‘टिनटिन’, ‘एक्स्टि्रक्स’ कमिक्सहरू ल्याइदिनुहुन्थ्यो । उनी भन्छन्, ‘म ती कमिक्स नबुझे पनि पढ्थें ।’ यसरी बुझी–नबुझी पढेका कमिक्सले सायद उनमा पढ्ने लत बसाल्यो ।

उनको पढ्ने लतलाई बढाउन काम गोदावरीस्थित सेन्ट जेभियर्स स्कुलको पुस्तकालयले गर्‍यो, जहाँ थरीथरीका पुस्तकहरू उपलब्ध थिए । त्यहीँ हो उनले सीएस लुइसका फ्यान्ट्यासी, हार्डी ब्वाएज र इनिड ब्लाइटनका जासुसी पुस्तकहरू पनि पढ्न थालेका । र, उनीहरूकै नक्कल गर्दै लेख्न पनि थालेका । उनी हाँस्दै भन्छन्, ‘मेरा कथाका पात्र, परिवेश सबै हार्डी ब्वाएज, इनिड ब्लाइटन शृंखलाका हुन्थे । तिनमा कथा पनि हुँदैनथ्यो, खाली प्लटमात्र हुन्थ्यो !’  पुस्तकहरू माझ हुर्कंदै जाँदा प्रणयको पठनमा परिपक्वता आयो । १४–१५ वर्षको उमेरमा उनले फेरि लेख्न थाले । त्यतिखेरको लेखाइ पनि उरन्ठ्यौलो र सतही हुन्थे । तर पनि उनी लेखिराख्थे । अनि साथीहरूलाई पनि देखाउँथे । आफ्नोभन्दा पृथक् दृष्टिकोण, ‘सेन्सिबिलिटी’ भएकाले आफ्नो लेखनलाई कसरी हेर्छन्, बुझ्छन् उनलाई जान्न मन लाग्थ्यो । उनका साथीहरू पनि पढन्ते थिए, विश्वसाहित्य पढ्थे, महत्त्वपूर्ण सुझाव दिन्थे । त्यसले पनि उनलाई राम्रो लेखक बन्न सहयोग पुर्‍यायो भन्ने उनी ठान्छन् ।

लेखक बन्छु भन्ने त उनलाई सानैदेखि थियो । तर, उनले लेखन गम्भीर भएर पछ्याएका थिएनन् । उनी भन्छन्, ‘राम्रो साहित्य लेख्न सक्छु भन्ने आत्मविश्वास मसँग थिएन । ४० वर्षसम्ममा राम्रो लेख्न सक्छु कि भन्ने लाग्थो !’ उनी सुनाउँछन् ।  पछि केही घटनाहरू भए जसले उनको आत्मविश्वास बढाउने काम गरे । सबभन्दा पहिलो, पढ्दै जाँदा उनले निष्पक्ष भएर अरू लेखकलाई मूल्यांकन गर्न सक्ने भए । विशेषगरी अङ्ग्रेजीमा लेख्ने नेपालीहरूको लेखनको तुलनामा आफ्नो लेखन कहाँ छ भन्ने ज्ञान पनि उनलाई हुन थाल्यो । उनी भन्छन्, ‘आफूभन्दा नराम्रो लेख्नेको पढेँ भने आत्मविश्वास पलाएर आउँथ्यो, लेख्नु भनेको नसकिने काम होइनजस्तो लाग्थ्यो । अनि आफूभन्दा राम्रो लेख्नेको पढ्यो भने लेखन दुरूहझैं लाग्थ्यो ।’

उनी राम्रो लेखनको रहस्य जान्न चाहन्थे । कुनै कथा राम्रो लाग्यो भने किन राम्रो लाग्यो, लेखकको कुन प्रयोगले कथा मन पर्ने बनायो, त्यो बुझ्न खोज्थे । कुनै राम्रो वाक्य पढ्न पुगे भने त्यत्तिकै राम्रो वाक्य आफूले बनाउन कसरी सक्छु भनेर उनी सोच्थे । विषयवस्तुको प्रस्तुति, पात्र चित्रण, संवाद कसरी गरिएका छन् भन्ने हेर्थे । कुनै पुस्तक पढिसकेपछि त्यसले आफूमा पारेको प्रभावको कारण खुट्याउन खोज्थे । यही कारणले होला सायद उनको अंग्रेजी भाषा, व्याकरणमाथिको पकड राम्रो भएको । अहिले त उनी एउटा राम्रो सम्पादकका रूपमा दरिइसकेका छन् । तर, उनी भन्छन्, ‘सम्पादन मेरो रहर होइन, बाध्यता हो । सायद अंग्रेजीमा लेख्ने सबैको स्थिति यस्तै होला किनकि अंग्रेजीमा लेख्ने सबैले लेख्नुबाहेक सम्पादन पनि गरिरहेका छन् ।’

सम्पादन कोर्स नगरीकन, सम्पादन र व्याकरणसम्बन्धी कुनै पुस्तक नपढीकन सम्पादक भएकाले होला व्याकरणीय पण्डित्याईं छाँट्नेहरूझैं उनी भाषा प्रयोगमा त्यति कठोर छैनन् र त्यही प्रयोग गर्छन् जुन राम्रो सुनिन्छ । अनि के सही, के गलतभन्दा पनि वाक्य सजिलै बुझ्न सकिन्छ कि सकिँदैन, त्यो हेर्छन् ।  यसरी अर्काको सम्पादन पनि गर्ने लेखक भएपछि बढी सम्पादन गरिदिने लालसा पनि हुँदो रहेछ । उनी भन्छन्, ‘सम्पादन गर्दा सम्पादकझैं भएर सोच्छु तर कहिलेकाहीँ मभित्रको लेखक हावी भइहाल्दो रहेछ । अनि योभन्दा राम्ररी त मैले भन्न सक्छु भनेर पुनर्लेखन गर्न, आफ्ना कुरा घुसाउन मन लाग्दो रहेछ ।’  अरूको लेखन पुनर्लेखन गर्न बेचैनी हुने सम्पादक–लेखक आफ्नो लेखन पुनर्लेखन नगरी किन बस्न सक्थे र ? उनी आफ्नो कथाहरू बारम्बार परिमार्जन गरिराख्छन् । उनले एउटा अन्तर्वार्तामा भनेका थिए, ‘सिटी अफ ड्रिम्स’ का कथाहरू पाँच, दस वर्षको बीचमा लेखेको हुँ । मैले लेख्दै गर्दा तिनले धेरै स्वरूप लिएका छन् ।’

त्यसो हो भने, पहिला लेखिएका कथाहरू र प्रकाशित कथाहरूमा धेरै भिन्नता छन् ?

उनी भन्छन्, ‘कथाहरूको रूपरेखा, ‘भ्वाइस’ त उस्तै हुन् । तर, पनि कथामा धेरै परिवर्तन भएका छन् । कथामा कुनै पात्र मिलेझैं लागेन भने त्यसलाई मिलाएको छु । यथेष्ट विवरणहरू थपेको छु । पात्रहरूलाई अलि परिपक्व बनाउने र पूर्ण बनाउने काम पनि गरेको छु ।’ यसरी निरन्तर पुनर्लेखन गर्ने उनको प्रवृत्तिले उनलाई फाइदा गरेको छ ।

उनको पहिलो कृतिको प्रशंसा समीक्षकहरूले गरेका छन्, उनलाई आशा गर्न सकिने नेपाली लेखकको रूपमा हेर्न थालेका छन् । उनको सुखद आगमनले नेपाली अंग्रेजी लेखनको अझै समृद्ध हुन मौका पाएको छ ।

http://kantipur.ekantipur.com/printedition/news/2016-01-16/20160116093641.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: